न्यायालयमाथि सामाजिक सञ्जालको आक्रमणप्रति प्रधान न्यायाधीशको कडा चेतावनी

0 Shares

काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमबाट न्यायालय तथा न्यायाधीशको प्रतिष्ठामाथि निरन्तर भइरहेको प्रहारले गम्भीर अवस्था सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार सर्वोच्च अदालतमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको संवादमा उनले अभिव्यक्ति स्वतन्त्रताको आडमा अदालतको गरिमा कुण्ठित गर्ने प्रवृत्ति अस्वीकार्य रहेको स्पष्ट पारे।

प्रधान न्यायाधीश राउतले पछिल्लो समय सामाजिक सञ्जालमा न्यायाधीशलाई लक्षित गरी फैलाइँदै आएको अराजक, अश्लील र तथ्यविहीन सामग्री ले न्यायपालिकाको मर्यादा कमजोर बनाइरहेको उल्लेख गरे। लोकतान्त्रिक प्रणालीमा तथ्यमा आधारित र सभ्य आलोचनालाई सधैँ स्वागत गर्ने भए पनि बदनियत र प्रतिशोधका आधारमा अदालतविरुद्ध घृणा फैलाउने कार्य सह्य नहुने उनको भनाइ थियो।

उनले कतिपय सञ्चारमाध्यमले विचाराधीन मुद्दामा समेत निष्कर्षात्मक र भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यस्तो अभ्यासले न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्ने चेतावनी दिए। न्यायाधीश सुरक्षित र निर्भीक नभए नागरिकको मौलिक अधिकार सुनिश्चित हुन नसक्ने र प्रेस स्वतन्त्रतासमेत कमजोर बन्ने उनको तर्क थियो।

न्यायालयको काम कारबाही विधि, प्रक्रिया, तथ्य र प्रमाणमा आधारित हुने स्पष्ट पार्दै प्रधान न्यायाधीश राउतले भावनात्मक दबाब वा भीडको प्रभावमा न्याय नहुने बताए। “अदालत मनलाग्दी चल्ने संस्था होइन,” उनले भने, “कुनै फैसलामा त्रुटि देखिए संविधानले नै त्यसलाई सच्याउने तहगत व्यवस्था गरेको छ।”

अदालतप्रति नागरिकको विश्वास कमजोर पार्ने प्रयासले अन्ततः लोकतन्त्र र नागरिक सर्वोच्चतालाई नै जोखिममा पार्ने भन्दै उनले मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र सबै सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

सम्बन्धित समाचारसबै