वीरगञ्ज । वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ।
प्रशासनका अनुसार मंगलबार बिहान ८ बजेसम्मका लागि लागू कर्फ्युलाई थप गर्दै दिउँसो १ बजेसम्म कायम गरिएको हो। कर्फ्यु अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको विज्ञप्तिमा कर्फ्यु उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही हुन सक्ने चेतावनी दिइएको छ। विज्ञप्तिमा कर्फ्युका बेला सुरक्षाकर्मीले आवश्यक परे गोलीसमेत चलाउन सक्ने उल्लेख गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। यदि निस्कनै परे सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गर्न आग्रह गरिएको छ।
टिकटकमा पोस्ट गरिएको एक भिडियोका कारण मुस्लिम र हिन्दू समुदायबीच उत्पन्न विवादले केही दिनदेखि वीरगञ्जको अवस्था तनावग्रस्त बनेको हो। सोही तनावलाई नियन्त्रणमा लिन सोमबारदेखि कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।