काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीबाट राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका हेमराज घिमिरे समयमै जानकारी नपाउँदा उम्मेदवारी दर्ता गर्नबाट वञ्चित भएका छन्। टिकट पाएको सूचना ढिलोगरी थाहा पाएपछि तोकिएको समयभित्र निर्वाचन आयोग पुग्न नसक्दा उनको उम्मेदवारी दर्ता हुन सकेन।
कोशी प्रदेशको संखुवासभामा रहेका घिमिरेलाई टिकट पाएको जानकारी दिउँसो १ बजे मात्र प्राप्त भएको थियो। संखुवासभाबाट विराटनगर पुग्न साढे पाँच घण्टासम्म लाग्ने भएकाले उनी समयसँगै दौडिन बाध्य भए। घिमिरेले बाइकमार्फत विराटनगरतर्फ प्रस्थान गर्दै बाटोमै वारेसनामा बनाएर ह्वाट्सएपमार्फत पठाए पनि निर्वाचन आयोगले उक्त प्रक्रिया मान्य नगरेको उनले बताए।
घिमिरेका अनुसार धरान पुग्दा अपराह्न ४ बजिसकेको थियो र त्यसबेलासम्म उम्मेदवारी दर्ताको समय सकिइसकेको थियो। विराटनगर आइपुग्दा साँझ ५ बजेको थियो। “पार्टीले टिकट दिने नै हो भने एक दिनअघि जानकारी दिएको भए म पहिले नै विराटनगर पुगेर बसेको हुन्थेँ,” भन्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।
उनले केही दिनअघि खादबारीमा पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग टिकटको विषयमा छलफल भएको उल्लेख गर्दै त्यसबेला ‘प्रयास गर्छौं’ भन्ने जवाफ आए पनि अन्तिम निर्णय ढिलो भएको गुनासो गरे। “यस्तो अवस्था पार्टी नेतृत्वले दोहोर्याउनु हुँदैन,” घिमिरेको भनाइ छ।
घिमिरे यसअघि २०७० सालमा एमालेबाट संखुवासभा निर्वाचन क्षेत्र नम्बर १ का लागि टिकट पाएका थिए। त्यो निर्वाचनमा पनि टिकट ढिलो प्राप्त भए पनि उनी पहिल्यै आयोग पुगेर बसेकाले उम्मेदवारी दर्ता गर्न सफल भएका थिए। “त्यतिबेला पनि ढिलाइ भएकै हो, तर म सावधान थिएँ,” उनले स्मरण गरे।
यसपटक घिमिरे उम्मेदवारी दर्ता गर्न नपुगेपछि राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्।