कांग्रेसभित्र बढ्दो विवाद टुंग्याउन संस्थापन पक्षका २५ नेता सक्रिय

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका र आन्तरिक असन्तुष्टिका कारण देखिएको तनाव कम गर्न संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यहरू अलग्गै छलफलमा जुटेका छन्। पार्टीभित्र देखिएको मतभेद समाधानका लागि उनीहरूले नेतृत्व तहसँग निरन्तर संवाद गरिरहेका छन्।

शुक्रबार ललितपुरको कुपण्डोलमा बसेको आन्तरिक बैठकमा हाल चुलिएको महाधिवेशनसम्बन्धी विवादलाई कसरी सहमतिमा टुंग्याउने भन्ने विषयमा केन्द्रित छलफल भएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन्। बैठकमा पार्टी एकतालाई प्राथमिकतामा राख्दै मध्यमार्गी समाधान खोज्ने प्रयास गरिएको सहभागीहरूको भनाइ छ।

केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार यसअघि नेता डा. शेखर कोइरालासँग भएको छलफलमा पनि नियमित महाधिवेशन समयमै गराउने विषयलाई केन्द्रमा राखेर विकल्पहरूबारे विचार–विमर्श भएको थियो। समूहले पार्टीभित्र ध्रुवीकरण बढ्न नदिन सबै पक्षलाई स्वीकार्य निकास निकाल्नुपर्ने निष्कर्ष निकालेको छ।

उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अलग–अलग भेटघाट गरी विवाद समाधानका लागि पहल गरिसकेको छ। १८ र २२ पुसमा भएका ती भेटवार्तामा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने विषयमा समूहले आफ्नो धारणा स्पष्ट पारेको थियो।

१५औँ महाधिवेशनको समय र कार्यतालिकाबारे पार्टीभित्र बहस चलिरहेका बेला २५ केन्द्रीय सदस्यको यो समूहले सहमति र संवादमार्फत समस्याको समाधान खोज्न सक्रियता बढाएको छ। उनीहरूको पहलले कांग्रेसभित्रको आन्तरिक तनाव कम हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै