एनआरएनए अमेरिकाको स्पष्टिकरण: युवा मन्त्री गुप्तालाई कुनै कार्यक्रमका लागि बोलाइएको छैन

0 Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रमका लागि आफूहरूले आमन्त्रण नगरेको स्पष्ट पारेको छ। संघले आफ्नो नाम जोडेर प्रचार भइरहेका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक धारणा सार्वजनिक गरेको हो।

एनआरएनए अमेरिकाले जारी गरेको विज्ञप्तिमा हाल अमेरिकामा कुनै पनि युवा केन्द्रित कार्यक्रम संस्थागत रूपमा आयोजना नभएको जनाउँदै केही व्यक्ति वा समूहले संस्थाको नाम दुरुपयोग गरिरहेको जानकारी आएको उल्लेख गरिएको छ। संघका अनुसार एनआरएनए अमेरिकाको स्वीकृति वा निर्णयबिना अनधिकृत रूपमा कार्यक्रम सञ्चालन गर्ने, यहाँसम्म कि मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिसमेत भइरहेको विश्वसनीय सूचना प्राप्त भएको छ।

विज्ञप्तिमा एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको उल्लेख गर्दै संस्थाको नाम, इएनआइ नम्बर, वेबसाइट तथा डिजिटल पहिचानको दुरुपयोगले गम्भीर कानुनी, आर्थिक र प्रतिष्ठागत जोखिम निम्त्याउने चेतावनी दिइएको छ। यस्ता गतिविधिहरू संस्थासँग नजोडिँदा पनि सार्वजनिक रूपमा जोडिएमा कानुनी जिम्मेवारी सिर्जना हुन सक्ने भएकाले विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको संघको भनाइ छ।

संघले आफूहरूसँग कुनै सम्बन्ध नरहेका कार्यक्रम वा गतिविधिलाई एनआरएनए अमेरिकासँग जोडेर प्रचार नगर्न आग्रह गर्दै आधिकारिक सूचना केवल संस्थाका मान्य सञ्चार माध्यमबाट मात्र लिन अनुरोध गरेको छ। साथै, अनधिकृत गतिविधिहरूप्रति सबैलाई सजग रहन पनि एनआरएनए अमेरिकाले अपिल गरेको छ।

सम्बन्धित समाचारसबै