काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय गरिएको अमेरिका भ्रमण स्थगित गरेका छन्। मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार भिसा र अन्य प्रक्रियाका लागि समय अपुग भएकाले मन्त्री अहिले अमेरिका नजाने भएका हुन्।
मन्त्री गुप्तालाई अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्ले अनुमति दिएको थियो। कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) का विकास उप्रेती अध्यक्ष रहेको युवा विभागले टेक्सासको डलासमा आयोजना गर्न लागेको थियो।
तर, कार्यक्रममा उप्रेती समूहले बोलाएको भए पनि अर्का अध्यक्ष सतेन्द्र शाह नेतृत्वको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनी विवाद उत्पन्न भएको थियो।
स्वकीय सचिव रिमालका अनुसार, भ्रमण तीन साताअघि नै तय भएको थियो तर मन्त्रिपरिषद् बैठक नबसेको कारण स्वीकृति ढिला भयो। “अमेरिकामा मन्त्री सरकारी खर्चमा जान लाग्नु भएको थिएन, आयोजकले खर्च व्यहोर्ने कुरा थियो,” रिमालले बताएका छन्।
मन्त्री गुप्ता अमेरिकामा जेनजी आन्दोलनपछि गैरआवासीय नेपाली युवाको सहभागिता र उनीहरूको योगदानबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रममा सहभागी हुनु पर्ने थियो। माघ ६ मा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुने भएकाले मन्त्री त्योअघि नेपाल फर्कन चाहन्थे।