प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा ४ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना

0 Shares

विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङमा ४ हजार ३ सयभन्दा बढी म्यादी प्रहरी भर्ना गरिने भएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार जिल्लाका ६ वटा निर्वाचन क्षेत्रका लागि ४ हजार ३ सय ८३ जना निर्वाचन प्रहरी आवश्यक पर्नेछ। म्यादी प्रहरीको माग भएसँगै शुक्रबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिन युवायुवतीको उल्लेखनीय भीड देखिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको निर्वाचन सेलले इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठको नेतृत्वमा आवेदन संकलन गरिरहेको छ। आवेदन माघ १ गतेसम्म खुला रहनेछ।

म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र कुनै आतंककारी वा विध्वंसकारी संगठनमा आबद्ध नभएकाहरू योग्य मानिनेछन्।

छनोट भएका म्यादी प्रहरीलाई सरकारले तोकेअनुसार सेवा–सुविधा उपलब्ध गराइनेछ। साथै उनीहरूलाई मतदान केन्द्रको सुरक्षा, मतपेटिका व्यवस्थापन र भीड नियन्त्रणलगायत विषयमा आवश्यक तालिम दिइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै