काठमाडौं । वैकल्पिक राजनीतिको नयाँ अध्याय खोल्ने दाबीका साथ एक ठाउँमा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको सहकार्य जन्मिएको दुई सातासमेत नपुग्दै अन्त्य भएको छ। गत पुस १४ गते धुमधामका साथ सार्वजनिक गरिएको सातबुँदे एकता सहमति शनिबार औपचारिक रूपमा खारेज गरिएको हो।
एकता भंग भएसँगै दुवै दल आरोप–प्रत्यारोपमा उत्रिएका छन्। रास्वपाले उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङलाई ‘अतृप्त महत्वाकाङ्क्षा’ र ‘अत्यधिक बार्गेनिङ’ को दोष लगाएको छ भने घिसिङले रास्वपाले आफूहरूलाई ‘प्रयोग गरेर फ्याँकेको’ आरोप लगाएका छन्।
एकता प्रक्रिया टुंगिएलगत्तै उज्यालो नेपाल पार्टीमा नेतृत्व हेरफेर भएको छ। पार्टीका संरक्षक रहेका कुलमान घिसिङ अध्यक्ष बनेका छन् भने पूर्वअध्यक्ष अनुपकुमार उपाध्याय संरक्षकको भूमिकामा सरेका छन्।
शुक्रबार र शनिबार रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच भएको लामो छलफल निष्कर्षविहीन भएपछि दुवै पक्ष अलग बाटो रोज्न बाध्य भएका हुन्।
रास्वपाको सचिवालय बैठकमा सभापति लामिछानेले एकता किन टिक्न नसकेको भन्नेबारे स्पष्ट पारेका छन्। उनका अनुसार घिसिङले पटक–पटक नयाँ सर्त अघि सारे—कहिले वरिष्ठ उपसभापति र महामन्त्री पद, कहिले केन्द्रीय समितिमा ३० जनाको माग, त कहिले प्रत्यक्ष निर्वाचनमा आफ्ना उम्मेदवारलाई अनिवार्य टिकट।
‘पार्टीको सिद्धान्तदेखि नामसम्म परिवर्तन गर्नुपर्ने माग आएपछि सहकार्यको आधार नै हरायो,’ लामिछानेको भनाइ छ। उनले पार्टीको नेतृत्व आफूले गर्ने, सरकारको नेतृत्व बालेन शाहलाई दिने र विकास–निर्माणको जिम्मा घिसिङलाई दिने प्रस्तावसमेत अस्वीकार गरिएको दाबी गरेका छन्।
उता, उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङ भने रास्वपाको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। पत्रकार सम्मेलन गर्दै उनले रास्वपाले आफूहरूलाई समानुपातिक सूची बुझुन्जेलसम्म मात्र साथ दिएको र पछि एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाए।
‘हामी जेन–जीको भावना बोकेर निःशर्त एकता चाहन्थ्यौं। तर अन्तिम समयमा आएर विधि र सहमतिको मर्ममाथि खेलवाड गरियो,’ घिसिङले भने। उनका अनुसार संविधान, संघीयता र समावेशिताजस्ता विषयमा थप सहमति गर्ने प्रतिबद्धताबाट रास्वपा पछि हटेको थियो।
रास्वपाको बन्दसूचीमा समावेश १८ जना उम्मेदवारको भविष्य अन्योलमा परेको भन्दै उनले असन्तोष व्यक्त गरे। ‘मैले ठूलो पद खोजेको होइन, तर पद्धतिको कुरा गर्दा पाखा लगाइयो,’ उनको भनाइ छ।
रास्वपासँगको सहकार्य समाप्त भएपछि उज्यालो नेपाल पार्टीले एक्लै निर्वाचनमा होमिने निर्णय गरेको छ। शनिबार बसेको आकस्मिक बैठकले देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने र संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको पार्टीले जनाएको छ।
सुशासन, मेरिटोक्रेसी र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा बोकेका दुई शक्तिबीचको यो विग्रहले वैकल्पिक राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। उज्यालो नेपालका नेताहरूले केही अभियन्ताले जबर्जस्ती एकता गराएको र अहिले रास्वपाले ‘युज एण्ड थ्रो’ नीति अपनाएको गुनासो गरेका छन्।
केही दिनअघि मात्रै मन्त्री पदबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा आएको घोषणा गरेका घिसिङका लागि यो घटनाक्रमले नयाँ चुनौती थपेको छ। विकसित परिस्थितिले आसन्न निर्वाचनको समीकरणलाई थप रोचक र अनिश्चित बनाइदिएको छ।