काठमाडौं । आधुनिक नेपालको जग बसाल्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने परम्परा अनुसार सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
राष्ट्र एकीकरणका अग्रदूत शाहप्रति श्रद्धाञ्जली अर्पण गर्न आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरिँदै छ। पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ, जहाँ प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
शाहको जन्मभूमि गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रममार्फत पृथ्वी जयन्ती मनाइँदै छ। त्यस्तै, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गर्दै आएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यहरू छरिएका बेला सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको सहयोग र सहभागितामा नेपाल एकीकरणको ऐतिहासिक अभियानको नेतृत्व गरेका थिए। २० वर्षकै उमेरमा गद्दी आरोहण गरेका उनले आन्तरिक तथा बाह्य शक्तिसँग जुझ्दै राष्ट्रिय एकताको आधार निर्माण गरे। शाहको विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो।
पृथ्वी जयन्तीले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई अझ सुदृढ बनाउने सन्देश दिन्छ। यस दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो भन्ने चेतना फैलाउने विश्वास लिइन्छ। विशेषगरी युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गराउन यस दिवसको महत्त्व उल्लेखनीय मानिन्छ।
शाहको एकीकरण अभियानले नेपालको स्वाधीनता र सार्वभौमिकता सुरक्षित गर्ने बलियो आधार तयार गरेकाले नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा चिनिन पुगेको छ। उनले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा उत्तिकै सान्दर्भिक छन्। भूराजनीतिक यथार्थलाई इंगित गर्दै उनले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ भनेका थिए, जुन कथन आज पनि राष्ट्रिय नीति र कूटनीतिक सन्तुलनका सन्दर्भमा मार्गदर्शक मानिन्छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले देशवासीलाई शुभकामना सन्देश व्यक्त गरेका छन्।