काठमाडौँ । चर्चित गायक तथा इन्डियन आइडल–३ का विजेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। उनको आइतबार निधन भएको पुष्टि निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै रातोपाटीसँग गरेका हुन्।
निर्माता वंशलका अनुसार तामाङसँग तीन दिनअघि मात्र कुराकानी भएको थियो। “आज अचानक उहाँको निधनको खबर सुन्दा विश्वास नै लागिरहेको छैन,” वंशलले भने, “परिवारका सदस्यसँग बुझ्दा हृदयघातका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ।”
इन्डियन आइडलको उपाधि जितेपछि व्यापक चर्चामा आएका तामाङ पछिल्लो समय बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए। उक्त फिल्मको केही डबिङ कार्य भने अझै बाँकी रहेको बताइएको छ।
गायनसँगै अभिनयमा समेत सक्रिय तामाङले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी–२’ लगायतका फिल्ममा अभिनय गरेका थिए। उनले नेपाली र हिन्दी भाषामा थुप्रै लोकप्रिय गीतमार्फत दर्शक–श्रोताको मन जितेका छन्।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन्। पछिल्लो समय उनी भारतको दिल्लीमा बसोबास गर्दै आएका थिए। उनको निधन पनि दिल्लीमै भएको जनाइएको छ।