कांग्रेस रूपान्तरणमा धैर्य र विवेकले अघि बढ्नुपर्नेमा डा. कोइरालाको जोड

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको एकता आजको अपरिहार्य आवश्यकता भएको बताएका छन्। पार्टीको विशेष महाधिवेशन र आसन्न निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको भिडियो सन्देशमा उनले आफूलाई कुनै पद–प्रतिष्ठाको लालसा नभएको स्पष्ट पारेका छन्।

कोइरालाले सभापति, प्रधानमन्त्री, मन्त्री वा महामन्त्री बन्ने आकाङ्क्षा कहिल्यै नबोकेको दाबी गर्दै आफ्नो राजनीतिक यात्राको मूल आधार पारिवारिक संस्कार र मूल्य–मान्यता भएको बताए। ती मूल्यबाटै प्रेरित भएर आफू कांग्रेसको भावनात्मक र संगठनात्मक एकताको पक्षमा शान्त तर दृढ आवाज उठाइरहेको उनको भनाइ छ।

पार्टी रूपान्तरणको अभियानमा आवेग, आक्रोश र अधैर्यताले होइन, धैर्य र विवेकले अघि बढ्नुपर्नेमा जोड दिँदै उनले विशेष महाधिवेशनको क्रममा आफ्ना धारणा केन्द्रीय कार्यसमितिमा लिखित रूपमा प्रस्तुत गरिएको बताए। तर, त्यसले पार्टी विभाजनको सन्देश नजाओस् भन्नेमा आफू सचेत रहेको उनले उल्लेख गरे।

कांग्रेसजस्तो ऐतिहासिक पार्टी संक्रमणकालमा प्रवेश गर्दा त्याग र अपमान कसरी सहनुपर्छ भन्ने अनुभव आफूलाई रहेको भन्दै कोइरालाले अन्तिम समयसम्म पार्टीको भावनात्मक एकता कायम राख्न प्रतिबद्ध रहने प्रण गरे।

देश निर्वाचनको संघारमा पुगेको अवस्थामा संविधान कमजोर बन्दै गएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। जनआन्दोलनबाट स्थापित निर्वाचित सरकारको सट्टा अनिर्वाचित व्यवस्था अघि बढ्नु लोकतन्त्रका लागि खतरा भएको भन्दै लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबै शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।

महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको अमूल्य धरोहरको रूपमा चित्रण गर्दै कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी उनीहरूको काँधमा रहेको बताए।

अन्त्यमा उनले बीपी कोइरालाको मेलमिलापको नीति कुनै कानुनी दस्तावेज वा विधानको सीमाभित्र नभई अन्तरआत्माबाट निस्किएको आवाज भएको स्मरण गराउँदै सहमति, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई कांग्रेसको समग्र एकताको बिगुल फुक्ने महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचारसबै