किसानलाई भेटेरिनरी सल्लाहबिना औषधि प्रयोग नगर्न निर्देशन

0 Shares

नेपालगञ्ज । पशुपक्षीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न कृषि तथा खाद्य संगठन (एफएओ) काठमाडौं र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजित अन्तरक्रियामा आग्रह गरेका छन्।

कार्यक्रममा सरोकारवालाहरूले बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्दा समस्या बढ्ने उल्लेख गर्दै, मात्र आवश्यक उपचारमा औषधि प्रयोग गर्न किसानहरूलाई निर्देशन दिएका थिए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. गणेश पुनले पशुपालन गर्ने किसानहरूले सम्बन्धित भेटेरिनरीसँग परामर्श गरेर मात्र औषधि प्रयोग गर्नुपर्नेमा जोड दिए।

बजार अनुगमनमा भेटिएका समस्याहरूको सुधार गर्न अनुगमनकर्तालाई अधिकार प्रत्यायोजन गर्नुपर्ने र खाद्य व्यवसायीले अनुगमन टोलीका निर्देशन पालना नगरेको पाइएको बताइएको छ। भेटेरिनरी अस्पतालका अधिकृत भोजराज रावलले यसमा सुधार ल्याउन आवश्यक रहेको बताए।

कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलले भारतबाट अवैध रूपमा भित्रने कुखुरा, माछा दाना र अण्डाले समस्या बढाएको गुनासो गरेका छन्। साथै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले भौतिक, रासायनिक र जैविक दूषित तत्वले खाद्य सुरक्षामा जोखिम बढाएको भन्दै गम्भीर ध्यान दिनुपर्ने बताए।

विशेषगरी, दूषित खाद्यको असर पाँच वर्षमुनिका बालबालिकामा पर्ने तथ्यांकले देखाएको उनले जानकारी दिए। उनले दूषित खाद्यपदार्थको बिक्री–वितरण पूर्ण रूपमा बन्द गर्न, न्यूनस्तरीय वा झुक्काइ खाद्य पदार्थ बिक्री गर्ने र लेबलविहीन उत्पादन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको सहजीकरण डा. साकार सिवाकोटी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईले गरेका थिए।

सम्बन्धित समाचारसबै