नेपाली कांग्रेसमा विशेष महाधिवेशन सुरु, केदार कार्की खुलेर पक्षमा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन र नीतिगत सुधारको एजेन्डा लिएर असन्तुष्ट पक्षले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्दै महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको अगुवाइमा यो महाधिवेशन सञ्चालन भइरहेको छ।

तर वरिष्ठ नेता डा. शेखर कोइरालाले यस अभियानमा असहमति जनाएका छन्। त्यसको विपरीत, नेताअनुभवि केदार कार्की खुलेरै विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। कार्कीले नेतृत्व परिवर्तन र नीतिगत सुधारको लागि नियमित महाधिवेशन कुर्न नसकिने निष्कर्ष निकाल्दै आफू आफ्नो एजेन्डाबाट विचलित नभएको स्पष्ट पारेका छन्।

 कार्कीले भने: “कमान्डर (डा. कोइराला) विचलित हुनुभयो होला, तर कमान्डर विचलित हुँदैमा सिपाही विचलित हुनुपर्छ भन्ने होइन। मैले मेरो एजेन्डा, लेख, बोली र धारणा जस्तै छोडेको छैन। नियमित महाधिवेशन अब विधान अनुसारको समयमा हुन नसक्ने पक्का भइसकेको छ। त्यसैले विशेष महाधिवेशन अपरिहार्य बनेको हो। मेरो दायित्व शेखर कोइरालाको एजेन्डा पास गराउनु पनि हो।”

कार्कीले विशेष महाधिवेशनले पार्टी विभाजनको रेखा कोर्छ भन्ने दाबीलाई खण्डन गर्दै भने: “कमाण्डर आफैँ विचलित भए पनि एजेन्डा सही छ भने त्यसमा लाग्नुपर्छ। अहिले काङ्ग्रेसमा स्पष्ट दुई लाइन देखिएका छन्—एक शेरबहादुर देउवाको यथास्थितिवादी लाइन र अर्को विशेष महाधिवेशन पक्षधरको लाइन। अब पार्टीको भविष्य तय गर्ने काम हलले गर्नेछ।”

उनले विशेष महाधिवेशनको उद्देश्यलाई ‘ड्रास्टिक चेन्ज’ अर्थात् आमूल परिवर्तन भने र स्पष्ट पारे: “यो बाढीजस्तै हो—आएपछि धेरै कुरा बगाएर लैजान्छ र नयाँ निर्माण गर्छ। नीति मात्र होइन, नेतृत्वमा पनि परिवर्तन ल्याउने यो महाधिवेशनको मुख्य लक्ष्य हो। हलले जे पास गर्छ, सबैले स्वीकार गर्नुपर्छ।”

हाल भृकुटीमण्डपमा प्रतिनिधिहरू उत्साहपूर्वक दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्। कार्कीले अनुमान लगाए अनुसार अहिले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि उपस्थित हुने देखिन्छ। उनी अन्तिम समयसम्म पनि प्रतिनिधिहरूलाई स्वागत गर्न तयार रहेको बताए।

विशेष महाधिवेशनमा उपस्थित पार्टी नेता तथा प्रतिनिधिहरूले आगामी कांग्रेसको नेतृत्व र नीति निर्माणमा ऐतिहासिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै