विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। अन्य समूह अन्तर्गत रिक्त एक पदका लागि थापाको मात्र उम्मेदवारी परेपछि निर्वाचन अधिकृतको कार्यालयले आइतबार औपचारिक रूपमा निर्विरोध निर्वाचन घोषणा गरेको हो।
थापाको प्रतिस्पर्धीका रूपमा नेकपाका उम्मेदवार हेमराज घिमिरे मैदानमा उत्रने चर्चा भए पनि उनी समयमै उम्मेदवारी दर्ता गर्न नसक्दा थापा एकल उम्मेदवार बनेका थिए। निर्वाचन अधिकृतको सूचनामा भनिएको छ, “एक जना मात्र उम्मेदवार कायम भएकाले सम्बन्धित उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ।”
अब कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको ध्यान महिला र दलित समूहतर्फ केन्द्रित भएको छ। महिला समूहमा कांग्रेस–एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार छन्। त्यस्तै, दलित समूहमा कांग्रेस–एमाले गठबन्धनका सोम पोर्तेल र नेकपाका खेमराज सुन्दास बीच प्रतिस्पर्धा हुने भएको छ।
राष्ट्रिय सभाको रिक्त १८ पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ। तीमध्ये कोशी प्रदेशबाट तीन जना निर्वाचित हुनेछन्। अन्य समूहको परिणाम आइसकेको भए पनि महिला र दलित समूहमा गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
मतभारको हिसाबले कोशी प्रदेशमा कांग्रेस–एमाले गठबन्धन स्पष्ट रूपमा बलियो देखिएको छ। प्रदेशसभाका ९३ सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ।
दलअनुसार हेर्दा एमालेको ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार रहेको छ। कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुगेको छ। यसमा जसपाको १ सय २९ मतभार थपिएको छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रतर्फ ५७ मतभार रहेको छ।
मतभारको यो समीकरणले महिला र दलित समूहमा पनि गठबन्धनलाई स्पष्ट अग्रता दिलाउने अनुमान गरिएको छ।







