अमेरिकी शुल्कको दबाबपछि भारत नयाँ व्यापारिक बजारतर्फ उन्मुख

0 Shares

विराटनगर ।अमेरिकासँगको व्यापारिक सहमति अन्योलमा परेपछि भारतले आफ्नो निर्यात रणनीतिमा व्यापक पुनर्संरचना गर्दै नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी तीव्र बनाएको छ। कडा अमेरिकी कर नीतिका कारण व्यापारमा परेको दबाब कम गर्न भारत वैकल्पिक देश र क्षेत्रसँग व्यापार सम्झौता विस्तार वा नयाँ सहमति गर्न आक्रामक रूपमा अघि बढेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत अगस्टमा भारतीय वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गरेपछि दुई देशबीचको व्यापारिक सम्बन्ध चिसिएको थियो। यसले भारतमा रोजगारी गुम्ने जोखिम बढाउनुका साथै उत्पादन र निर्यातको प्रमुख केन्द्र बन्ने दीर्घकालीन लक्ष्यमा समेत चुनौती थपेको विश्लेषकहरू बताउँछन्।

यही कारण भारत अब आफ्नो सबैभन्दा ठूलो निर्यात बजार मानिएको अमेरिका बाहिर पनि सम्भावनाको खोजीमा लागेको छ। भारतले बेलायतसँग व्यापार सम्झौता अघि बढाइसकेको छ भने युरोपेली संघ (ईयू), युरेसियन इकोनोमिक युनियन, मेक्सिको, जर्मनी, चिली तथा दक्षिण अमेरिकी मर्कोसुर व्यापार समूहसँग नयाँ सम्झौता वा विद्यमान सहमति विस्तारका लागि छलफल तीव्र पारेको छ।

नयाँदिल्लीस्थित ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अजय श्रीवास्तवका अनुसार भारतको लक्ष्य अब एकल बजारमा निर्भरता घटाउँदै बहुपक्षीय व्यापार सञ्जाल विस्तार गर्नु हो। “अमेरिकी शुल्कले देखाएको जोखिमपछि भारतले व्यापार विविधीकरणलाई रणनीतिक प्राथमिकतामा राखेको छ,” उनले समाचार संस्था एएफपीसँग भनेका छन्।

विशेषज्ञहरूका अनुसार यी प्रयास सफल भए भारतले अमेरिकी बजारमा आएको झट्कालाई केही हदसम्म सन्तुलनमा ल्याउन सक्नेछ भने दीर्घकालमा निर्यात संरचना अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै