काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका संवैधानिक र प्रशासनिक संरचनामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत निर्णायक रूपमा पराजित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। काभ्रेपलाञ्चोकमा आइतबार आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै उहाँले देश अराजकताका दिशामा धकेलिन नदिन संगठित राजनीतिक प्रतिवाद आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा कडा शब्द प्रयोग गर्दै बस्नेतले सिंहदरबार, सर्वोच्च अदालत र सरकारी संरचनामाथि आक्रमण गर्नेहरूलाई लक्षित गर्दै भने, ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ।’ उहाँको भनाइमा यस्तो प्रवृत्तिविरुद्ध चुप लागेर बस्नु राज्य र लोकतन्त्रप्रतिको बेइमानी हुनेछ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन हुने–नहुने विषयमा अन्योल कायम रहेको उल्लेख गर्दै बस्नेतले मुलुक गम्भीर राजनीतिक संकटको मोडमा पुगेको दाबी गर्नुभयो। भदौ २३ र २४ मा भएका घटनाले देशलाई अनिश्चित दिशातर्फ धकेलेको भन्दै त्यसपछि असङ्ख्य आशङ्का र द्विविधा पैदा भएको उहाँको भनाइ थियो।
एमालेको आधिकारिक धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले तोकिएको मितिमा निर्वाचन हुने अवस्था नरहेको निष्कर्ष पार्टीले निकालेको जानकारी दिनुभयो। ‘फागुन २१ मा निर्वाचन हुने परिस्थिति छैन, यो नेकपा एमालेको स्पष्ट निष्कर्ष हो,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय संवाद सुरु हुनु सरकारको पहल नभई एमालेको सशक्त दबाब र प्रतिवादको परिणाम भएको दाबी पनि उहाँले गर्नुभयो। ‘पहिले भेट्नसमेत नमान्ने प्रधानमन्त्री अहिले एक–एक वार्ताको अवस्थामा पुग्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘यसले सरकार घुँडा टेक्न बाध्य भएको संकेत गर्छ।’
बस्नेतले पछिल्ला राजनीतिक घटनालाई लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारमाथिको आक्रमणका रूपमा चित्रण गर्दै अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूले नेपाललाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो। जेन–जी पुस्ताका मागहरू परिवर्तनमुखी भए पनि तिनलाई गलत दिशातर्फ मोडिएको उहाँको भनाइ थियो।
प्रतिगमनविरुद्धको संघर्ष दुई चरणमा अघि बढेको दाबी गर्दै उहाँले पहिलो चरण आन्दोलनमार्फत शक्ति सन्तुलन बदल्नु र दोस्रो चरण निर्वाचनमार्फत एमाले सबैभन्दा बलियो शक्ति बनेर राज्यलाई गलत शक्तिको नियन्त्रणबाट मुक्त गराउनु रहेको उल्लेख गर्नुभयो। ‘प्रतिगमन सच्याउने सबैभन्दा प्रभावकारी हतियार चुनाव नै हो,’ उहाँले स्पष्ट पार्नुभयो।
देशमा अराजकता फैलन नदिन नेसनल भोलेन्टियर फोर्स गठन गरिएको जानकारी दिँदै बस्नेतले आगामी निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा नभई नेपाललाई भेनेजुएलाजस्तो संकटग्रस्त अवस्थामा पुग्नबाट जोगाउने निर्णायक लडाइँ हुने दाबी गर्नुभयो। ‘यो चुनाव नेपाल राष्ट्र र जनतालाई अपहरणबाट मुक्त गराउने संघर्ष हो,’ उहाँले भन्नुभयो।
कार्यक्रमको अन्त्यमा उहाँले सिंहदरबार, अदालत, सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी गर्ने समूहहरू आगामी दिनमा फेरि सक्रिय हुनसक्ने चेतावनी दिँदै त्यसविरुद्ध संगठित र सचेत प्रतिवादको नेतृत्व नेसनल भोलेन्टियर फोर्सले लिनुपर्ने धारणा राख्नुभयो।