काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने चाहना व्यक्त गरेका छन्। झापामा रास्वपाको संगठन र राजनीतिक सम्भावनाबारे प्रत्यक्ष छलफल गर्दै उनले यस्तो संकेत दिएका हुन्।
आइतबार साँझ ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको निवासमा करिब डेढ घन्टा चलेको बैठकमा बालेनले रास्वपा झापाका नेताहरूसँग लामो संवाद गरेका थिए। छलफलमा पार्टीका झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरालगायतको सहभागिता रहेको थियो।
रास्वपा झापाका सचिव शम्भु सुस्केराका अनुसार बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मानिने झापा–५ बाट प्रतिस्पर्धा गर्ने चाहना स्पष्ट पारेका थिए। उक्त क्षेत्र ओलीको परम्परागत निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ, जहाँ उनले २०४८ सालदेखि एकपटकबाहेक लगातार निर्वाचन जित्दै आएका छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए।
झापाबाट बालेनको सम्भावित उम्मेदवारीप्रति स्थानीय रास्वपा नेताहरू उत्साहित देखिएका छन्। बालेन उम्मेदवार बनेमा झापामा पार्टीका पक्षमा नयाँ राजनीतिक माहोल बन्ने अपेक्षा गरिएको छ। सचिव सुस्केरा स्वयं भने झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा रहेका छन्।
छलफलका क्रममा बालेनले झापा–५ को सामाजिक, राजनीतिक र विकास निर्माणको अवस्थाबारे आफ्नो टिमले प्रारम्भिक अध्ययन गरेको जानकारीसमेत गराएका थिए। पुराना राजनीतिक दलहरूको प्रभाव, स्थानीय मुद्दा र मतदाताको मनोविज्ञानबारे पनि बैठकमा सामान्य विश्लेषण भएको बताइएको छ।
यसैबीच, आइतबार राति बालेनले सामाजिक सञ्जालमा ‘सबैलाई शुभकामना, हामी आउँदै छौँ’ भन्ने स्टाटस पोस्ट गरेपछि उनको सम्भावित उम्मेदवारीबारे थप चर्चा चुलिएको छ।