काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीसँगको एकतालाई अगाडि बढाउँदै आफ्नै समानुपातिक बन्दसूचीमा २१ जना सदस्यहरूको नाम समावेश गर्ने तयारी गरेको छ।
सोमबार (पुस २८) अद्यावधिक हुने सूचीमा उज्यालो नेपालका सदस्यहरू पनि रहनेछन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूचीबाट हटाएको भनिएको कुलमान घिसिङ नेतृत्वको १७ जनाको नाम पनि राष्ट्रिय परिवर्तन पार्टीको सूचीमा थपिनेछ।
राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले भने, “हामी दुवै पार्टी एक भएर अब अघि बढ्ने पक्का भइसकेको छ। उहाँहरूको तर्फबाट २१ जनाको नाम हाम्रो समानुपातिक सूचीमा थप्दैछौँ।”
पार्टी एकतालाई व्यवस्थित गर्न सांगठनिक संरचना र जिम्मेवारीसम्बन्धी निर्णयहरू पनि सोमबार टुंगो लगाइने पोर्तेलले जानकारी दिए।
विशेषज्ञहरूका अनुसार, उज्यालो नेपालसँगको एकतालाई आगामी निर्वाचनमा साझा शक्ति बलियो बनाउने रणनीति अन्तर्गतको कदमका रूपमा हेरिएको छ।