पार्टी एकताबद्ध राख्न ‘विष पिउन’ समेत तयार:डा. शेखर कोइराला 

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टी एकताको रक्षा गर्न अन्तिम प्रयासमा रहेको बताएका छन्।

कोइरालाले सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग निरन्तर संवाद गर्दै पार्टी फुट्न नदिन आग्रह गरिरहेको जानकारी दिँदै उपस्थित नेता तथा कार्यकर्तालाई ढुक्क भएर एकतामा लाग्न र निराश नहुन निर्देशन दिएका छन्।

छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैधानिक नभएको तर्क गरेका छन्। कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्य समितिलाई मात्र भएको र हालको प्रक्रियाबाट नेतृत्व परिवर्तन असम्भव हुने कानुनी राय उनीहरूले प्रस्तुत गरेका थिए।

भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन दुवै पक्षसँग सहजीकरण गरी कांग्रेसलाई एकताबद्ध बनाउने सुझाव दिएका छन्।

सोमबारको छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायतका नेता सहभागी थिए। साथै वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने पनि उपस्थित थिए।

विशेषज्ञहरूका अनुसार, पार्टीभित्रको यो छलफल कांग्रेसमा आगामी नेतृत्व विवाद समाधानका लागि निर्णायक मोड हुन सक्नेछ।

सम्बन्धित समाचारसबै