निर्वाचनमा डिजिटल अफवाह चुनौती बन्दै, नियन्त्रणका लागि आयोगको कडा तयारी

0 Shares

विराटनगर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसपटक भौतिक सुरक्षासँगै डिजिटल माध्यमबाट फैलिन सक्ने मिथ्या सूचना र अफवाहलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा पहिचान गरेको छ।

विराटनगरमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास हुन सक्ने भन्दै त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार सामाजिक सञ्जालमा फैलिने अफवाह रोक्न नेपाली सेना, नेपाल प्रहरी तथा नेपाल दूरसञ्चार प्राधिकरणका प्राविधिक टोलीहरू आयोगमै बसेर समन्वयात्मक रूपमा काम गरिरहेका छन्। फेसबुक र एक्स (ट्विटर) लगायतका डिजिटल प्लेटफर्मसँग प्रत्यक्ष समन्वय गर्दै भ्रामक सामग्री पहिचान र नियन्त्रणका प्रयास तीव्र बनाइएको उनले जानकारी दिए।

आयोगले निर्वाचन तयारीलाई व्यवस्थित बनाउन माघ २ गतेदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ। १६५ वटै निर्वाचन क्षेत्रका लागि आवश्यक बजेट स्वीकृत भइसकेको छ भने जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिद गर्न स्वायत्त अधिकार प्रदान गरिएको छ।

यसैबीच, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले भौगोलिक विकटता, खुला सिमाना र सामाजिक सञ्जालको दुरुपयोग यस निर्वाचनका प्रमुख चुनौतीहरू भएको उल्लेख गरे। उनका अनुसार कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ३५ लाख ७४ हजारभन्दा बढी मतदाता छन्। ती मतदाताका लागि १ हजार ९०७ मतदान स्थलमा ४ हजार २७० मतदान केन्द्र तोकिएका छन्।

दुई दिने अभिमुखीकरण कार्यक्रममा निर्वाचनसँग सम्बन्धित संवैधानिक व्यवस्था, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा, मतदान र मतगणनासम्बन्धी प्रक्रियामा केन्द्रित कार्यपत्र प्रस्तुत गरी व्यवहारिक अभ्याससमेत गराइने आयोगले जनाएको छ।

सम्बन्धित समाचारसबै