धनकुटा । धनकुटाको भेडेटार क्षेत्रमा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा ओसारपसार भइरहेको अवस्थामा एम्बुलेन्स नै नियन्त्रणमा लिएको छ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स सोमबार नियमित चेकजाँचका क्रममा शंकास्पद देखिएपछि रोक्न खोजिएको थियो। तर, प्रहरीले जाँच गर्न लाग्दा चालकले गाडी छोडेर भागेको प्रहरीले जनाएको छ।
पछिल्लो खोजतलासका क्रममा एम्बुलेन्सभित्र सेतो र कालो प्लास्टिकमा प्याक गरिएको १५ पोकामा ४ सय ४९ किलो गाँजा फेला परेको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
प्रहरीका अनुसार एम्बुलेन्सलाई लागूऔषध ओसारपसारका लागि प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि फरार भएका चालकको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।