कांग्रेस विशेष महाधिवेशनको वैधतामाथि बहस चर्कियो

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरे त्यसको वैधता के हुने ? यही प्रश्नले यतिबेला कांग्रेसभित्र तीव्र बहस जन्माएको छ । नेतृत्व चयनको तयारीसँगै पार्टीभित्रको आन्तरिक विवाद अब निर्वाचन आयोग र अदालतसम्म पुग्न सक्ने देखिएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले सोमबार आफ्ना कानुनी सल्लाहकारहरूसँग विशेष महाधिवेशनबाट गरिने निर्णयको वैधानिकताबारे परामर्श गरेको छ । कानुनी परामर्शमा बहुमतले लिएको निर्णय मान्य हुने र विशेष महाधिवेशन स्वयं वैधानिक हुने तर्क आएपछि सभापति देउवा केही लचक देखिएका छन् । सोही आधारमा उनले महामन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने तयारी थालेका छन् ।

उता, विशेष महाधिवेशन पक्ष भने नेतृत्व चयनको प्रक्रियालाई रोक्ने पक्षमा छैन । मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भएको छ । महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलका अनुसार पुरानो निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समिति गठन गरिनेछ ।
‘महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि मंगलबार बन्दसत्रले निर्णय गर्छ, त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ,’ पोखरेलले भने ।

कांग्रेसभित्रको यो विवाद निर्वाचनकै संवेदनशील घडीमा देखिएकाले निर्वाचन आयोगले पनि चासो देखाएको छ । विशेष महाधिवेशनबाट नेतृत्व चयन भए त्यसलाई अद्यावधिक गर्न आयोगमा निवेदन पर्ने निश्चित देखिन्छ । त्यसपछि विवाद कानुनी प्रक्रियामा प्रवेश गर्ने सम्भावना बलियो बन्दै गएको छ ।

यसैबीच, निर्वाचन आयोगले सम्भावित विवाद कसरी टुंग्याउने भन्ने विषयमा कानुनी अध्ययन सुरु गरेको छ । आयोगका पदाधिकारी तथा कानुन महाशाखाका अधिकारीहरूले कांग्रेसको विधान, सम्बन्धित ऐन, नियम र विगतका नजिरहरू अध्ययन गरिरहेका छन् ।

कांग्रेसभित्रको शक्ति संघर्ष अब केवल आन्तरिक विषयमा सीमित नरही संवैधानिक र कानुनी परीक्षणतर्फ उन्मुख भएको संकेत देखिएको छ । विशेष महाधिवेशनले गर्ने निर्णयले पार्टीको भविष्य मात्र होइन, दलभित्रको लोकतान्त्रिक अभ्यासको दिशासमेत निर्धारण गर्नेछ ।

सम्बन्धित समाचारसबै