सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार साहलाई कैद र जरिबानाको सजाय सुनाएको हो ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सेवाग्राहीसँग घुस लिएको आरोप पुष्टि हुने ठहर गर्दै फैसला गरेको हो । अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम साहलाई एक लाख रुपैयाँ जरिबाना र सोही दफाको उपदफा (२) अनुसार ६ महिनाको कैद सजाय सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख साहलाई गत असार ३२ गते कल्याणपुर नगरपालिकाको कार्यालय परिसरबाटै एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । नाला निर्माण योजनाको भुक्तानी प्रक्रिया अघि बढाइदिने शर्तमा उनले उपभोक्ता समितिका प्रतिनिधिसँग घुस लिएको अख्तियारको दाबी थियो ।
घटना कल्याणपुर नगरपालिका–६ मा सञ्चालन गरिएको नाला निर्माण योजनासँग जोडिएको थियो । योजना सम्पन्न भएपछि भुक्तानीका लागि चेक उपलब्ध गराउने क्रममा घुस मागिएको र लिएको अभियोगमा साहविरुद्ध अख्तियारले गत साउन २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यसै प्रकरणमा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध बयान फेरेको आरोप लगाउँदै अख्तियारले छुट्टै मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले उनको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण पेश नभएको ठहर गर्दै सफाइ दिएको छ ।
अदालतको फैसलासँगै घुस प्रकरणमा नगरप्रमुख साह दोषी ठहर हुँदा भ्रष्टाचारविरुद्धको कानुनी कारबाही फेरि एकपटक चर्चामा आएको छ ।