मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४, नेचुङ्ग क्षेत्रबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका–५ निवासी ३२ वर्षीय पेमा लामा रहेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।
सशस्त्र प्रहरीका अनुसार ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपमा भित्र्याइएको ८० कार्टुन इलेक्ट्रिक चुरोट नेपाल–चीन सीमाको कोरोला नाका नजिक गाडीमा लोड गरिएको अवस्थामा बरामद गरिएको हो । उक्त सामान तीन–चार दिनअघि नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लामालाई कन्टेनरका चालकसहित नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट नेचुङ्गका नायव निरीक्षक उदयबहादुर कुमालको नेतृत्वमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले कन्टेनरसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएको इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ । नियन्त्रणमा रहेका पेमा लामालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैबीच, कन्टेनर बिग्रिएको अवस्थामा भेटिएकाले त्यसमा रहेका टिस्यु पेपर र ट्वाइलेट पेपरलाई भन्सार कार्यालयले सिल गरेर सुरक्षित राखेको जानकारी दिइएको छ ।