काभ्रेपलाञ्चोक । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र लुटेराहरूले आक्रमण गर्दै करोडौँ रुपैयाँ लुटेका छन्। मुखमा मुकुण्डो लगाएका ६ जनाको समूहले बैंकभित्र प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिँदै ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लिएर फरार भएका हुन्।
साँझ करिब ७ बजेदेखि ७:४५ बजेसम्म चलेको घटनामा लुटेराहरूले बैंकका कर्मचारीहरूलाई डोरीले बाँधेर नियन्त्रणमा राखेका थिए। प्रतिकार गर्न खोज्दा सुरक्षागार्ड रुद्र कार्कीमाथि धारिलो हतियार प्रहार गरिएको छ, जसका कारण उनको हात गम्भीर रूपमा घाइते भएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लुटेराहरूले बैंकको सेफमा रहेको नगद बोरामा भरेर नजिकैको जंगलतर्फ भागेका थिए। घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा जंगल क्षेत्रमा खोजी अभियान थालेका थिए।
खोजीका क्रममा लुटेराहरूले बाटोमै फालेर गएको नगदसहितको बोरा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको छ।
प्रहरीले लुटमा प्रयोग भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चालक काभ्रेको बनेपाका बासिन्दा रहेका छन् भने लुटमा संलग्न अन्य व्यक्ति पनि बनेपाबाटै योजनाबद्ध रूपमा आएको खुलेको छ।
घटनापछि डीएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। लुटेराहरू जंगल क्षेत्रमा लुकेर बसेको आशंकामा सो क्षेत्रलाई घेराबन्दी गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
“सवारी साधन र चालक नियन्त्रणमा आइसकेका छन्। बाँकी रकम र फरार लुटेराहरूलाई चाँडै पक्राउ गर्ने गरी प्रहरी परिचालन गरिएको छ,” एसपी सुवेदीले बताएका छन्।