हस्ताक्षरभन्दा पार्टी एकता ठूलो : सभापति देउवा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका विवाद र असहमतिभन्दा पार्टी एकता नै सर्वोपरि रहेको स्पष्ट सन्देश दिएका छन्। पार्टीको टिकट वितरणमा आफ्नो हस्ताक्षरलाई लिएर उठेका प्रश्नहरूलाई उनले गौण विषयको रूपमा व्याख्या गरेका छन्।

सभापति देउवा र पार्टीका महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको भेटमा उनले “पार्टी एकतामा बाधा पुग्ने कुनै पनि विषय आफूलाई स्वीकार्य नहुने” बताएका हुन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार देउवाले टिकट वितरण प्रक्रियामा आफ्नो हस्ताक्षरलाई लिएर अनावश्यक बहस नगर्न आग्रह गरेका छन्। “समानुपातिक सूची र राष्ट्रिय सभाको टिकट केन्द्रीय समितिको निर्णयअनुसार नै अघि बढेको हो। यदि मेरो हस्ताक्षरकै कारण एकतामा समस्या छ भने त्यसलाई समाधान गर्नुस्, केन्द्रीय समितिले जसलाई जिम्मा दिन्छ, उहीले गरुन्,” देउवाको भनाइ उद्धृत गर्दै महतले बताए।

भेटमा सभापति देउवाले पार्टी विधान र केन्द्रीय समितिको निर्णयअनुसार नै सबै पदाधिकारीले काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेतृत्व परिवर्तन वा निर्वाचन नलड्ने जस्ता कुनै शर्त आफू अगाडि नआएको पनि स्पष्ट पारेका छन्।

प्रवक्ता महतका अनुसार महामन्त्रीद्वय थापा र शर्माले पनि सभापतिको राजीनामा वा आगामी निर्वाचनसँग सम्बन्धित कुनै सर्त अघि सारेका छैनन्। बरु, पार्टीभित्र देखिएका मतभेदलाई संवादमार्फत समाधान गर्ने विषयमा उनीहरू गम्भीर देखिएका छन्।

कांग्रेस नेतृत्वबीचको यो संवादलाई पार्टी एकता सुदृढ बनाउने दिशामा सकारात्मक संकेतको रूपमा हेरिएको छ। आगामी निर्वाचनको तयारी भइरहेका बेला शीर्ष नेतृत्वबीच सहकार्य र समझदारी बलियो बनाउने प्रयास तीव्र हुँदै गएको नेताहरूको बुझाइ छ।

सम्बन्धित समाचारसबै