काठमाडौँ । इरानमा जारी सरकारविरोधी आन्दोलनले गम्भीर मानवीय संकटको रूप लिँदै गएको छ। एक अमेरिकी मानवअधिकार संस्थाले पछिल्ला केही हप्तामा मात्रै दुई हजारभन्दा बढी मानिसको ज्यान गएको दाबी गरेको छ।
ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (HRANA) का अनुसार पछिल्ला १७ दिनमा कम्तीमा १ हजार ८ सय ५० जना प्रदर्शनकारी मारिएका छन्। यसै अवधिमा सुरक्षाकर्मी वा सरकारी पक्षसँग सम्बन्धित १ सय ३५ जना, ९ सर्वसाधारण र ९ बालबालिकाले पनि ज्यान गुमाएका छन्।
संस्थाले दिएको विवरणअनुसार हालसम्म १६ हजार ७ सय ८० भन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन्। सरकारले व्यापक रूपमा इन्टरनेट सेवा बन्द गरेकाले वास्तविक मृतकको संख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ।
प्रदर्शनहरू इरानका ३१ वटै प्रान्तमा फैलँदै झन्डै १ सय ८० शहरमा पुगेका छन्। सुरुमा महँगी र आर्थिक दबाबविरुद्ध उठेको असन्तोष अहिले प्रत्यक्ष राजनीतिक परिवर्तनको मागमा परिणत भएको बताइन्छ। विश्लेषकहरूले यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा मूल्यांकन गरेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि तीव्र बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानी अधिकारीहरूले “ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी दिएका छन्। ट्रम्पले यसअघि नै इरानसँग व्यापार गर्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेका छन्।
इरानको राजनीतिक अवस्था झन् तनावपूर्ण बन्दै जाँदा मानवअधिकार उल्लंघन र अन्तर्राष्ट्रिय दबाबले आगामी दिनहरू थप जटिल हुने संकेत देखिएको छ।


