कांग्रेसमा औपचारिक विभाजन भएकै हो त ?

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले उनीहरूलाई पार्टीको नीति र विधान विपरीत गतिविधि गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।

बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि सोही प्रकृतिको कारबाही गरेको छ। यो निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको अवस्थामा पुगेको छ।

पार्टी सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार विशेष महाधिवेशन आह्वान गरेर पार्टीको संस्थागत निर्णयविपरीत गएको निष्कर्ष निकाल्दै अनुशासनको कारबाही गर्नुपरेको हो। उनले परिस्थितिले अपर्झट रूपमा कडा निर्णय लिन बाध्य बनाएको बताए।

केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशन पक्षधर अन्य नेता तथा कार्यकर्ताहरूलाई भने पार्टीको जिम्मेवारी स्मरण गर्दै मूलधारमा फर्किन आह्वान गरेको छ। “अन्य पदाधिकारी र कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्ने निर्णय भएको छ,” विश्वकर्माले भने।

उनका अनुसार कारबाहीमा परेका नेताहरूले कारणसहित स्पष्टीकरण पेश गरेमा त्यसको सुनुवाइ हुन सक्ने बाटो खुला राखिएको छ। यद्यपि विशेष महाधिवेशन पक्षसँग भइरहेको वार्ता र सहमतिका प्रस्तावहरू भने हालका लागि स्थगित गरिएको उनले जानकारी दिए।

कांग्रेस नेतृत्वको यो निर्णयले पार्टीभित्रको शक्ति संघर्षलाई निर्णायक मोडमा पुर्‍याएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

सम्बन्धित समाचारसबै