विराटनगर । आज माघ १ गते, अर्थात माघे संक्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । नेपालका अधिकाशं समुदायले यो पर्वलाई साझा पर्वको रुपमा मनाउँछन् । हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्ति तथा मगर समुदायले माघे सकराती भनेर मनाउने गर्दछन् । यता थारु समुदायले माघी र खिचरा, राई समुदायले येले थेचे तथा सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउने गर्दछन् ।
पौराणिक कथाअनुसार शनिदेव र सूर्यदेवबीचको विवादपछि शनिले आफ्नो घरमा बचेको कालो तिलबाट सूर्यदेवको पूजा गरे। सूर्यदेव प्रसन्न भएर आर्शीवाद दिए कि मकर राशिमा मेरो प्रवेश हुँदा शनिको घर धन–धान्यले भरिनेछ। त्यसैले माघे संक्रान्तिमा कालो तिलको पूजा गरिन्छ, जसले अशुभ प्रभाव हट्ने र आरोग्य लाभ पुग्ने विश्वास छ।
वैज्ञानिक दृष्टिले पनि तिल र गुडको सेवन लाभदायी मानिन्छ। चिसो मौसममा शरीरलाई तातो राख्न तिल र गुडले ऊर्जा र गर्मी प्रदान गर्छ। तिलमा मुटु र रक्तचाप सम्बन्धी रोग कम गर्ने गुण, फाइबर र खनिज तत्व (कपर, म्याग्नेसियम, आइरन, क्याल्सियम, फास्फोरस, जिंक) पाइन्छ। गुडले पनि शरीरमा तातोपन र शक्ति बढाउने मानिन्छ।
त्यसैगरी माघे संक्रान्तिमा खिचडी बनाउने परम्परा पनि छ। पौराणिक कथाअनुसार बाबा गोरखनाथले युद्धपश्चात् खाना छिटो तयार पार्न दाल, चामल र तरकारी एउटै भाँडोमा पकाउने सुझाव दिए, जसले खिचडीको आविष्कार भयो।
यसरी माघे संक्रान्ति पर्व धार्मिक, पौराणिक र स्वास्थ्यसम्बन्धी महत्व बोकेको सांस्कृतिक पर्वको रूपमा मनाइन्छ।