१ माघ, नेपालगञ्ज । बाँके जिल्लामा पानीमा आश्रित जलपन्छीको वासस्थान गम्भीर जोखिममा परेको पाइएको छ। दुई दिनसम्म गरिएको जलपन्छी गणनाले तालतलैया, सिमसार र नदी क्षेत्रहरूमा जलपन्छीको संख्या र प्रजाति दुवै घट्दै गएको संकेत गरेको हो।
नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीका अनुसार जथाभावी विषादी प्रयोग, भौतिक पूर्वाधार विस्तार, सिमसार क्षेत्रको अतिक्रमणजस्ता कारणले जलपन्छीको प्राकृतिक वासस्थान संकटमा पर्दै गएको छ।
राप्ती नदी तटीय क्षेत्रका कुसुम, अगैया, सिधनियाघाटसहित विभिन्न तालतलैया तथा जलाशय क्षेत्रमा गणना गरिएको थियो। विशेषगरी नेपालगन्जस्थित कान्तितालमा विगतको तुलनामा जलपन्छी उल्लेख्य रूपमा घटेको पाइएको छ।
“अघिल्लो वर्ष ५५ प्रजातिका जलपन्छी देखिएका थिए, तर यस वर्ष त्यो संख्या घटेको छ,” भुपाल नेपालीले बताए। बाँके जिल्लामा हाल करिब ५० प्रजातिका जलपन्छी रहेको अनुमान गरिएको छ, जसमा चखेवा र सिलसिले हाँस बढी संख्यामा पाइएका छन्।
नेपालमा हरेक वर्ष जनवरीको पहिलो सातादेखि जलपन्छी गणना गरिँदै आएको छ। यस वर्ष पुस १९ गतेदेखि सुरु भएको गणना माघ ४ गतेसम्म देशका विभिन्न जिल्लामा जारी रहनेछ।
जाडो याममा उत्तरी ध्रुवमा हिउँ परेपछि आहारविहारको अभाव हुँदा हजारौँ आगन्तुक चरा नेपालतर्फ बसाइँ सर्ने गर्छन्। विश्वका आठ प्रमुख उडान मार्गमध्ये नेपाल दक्षिण एसिया उडान मार्गमा पर्छ, जहाँ हरेक वर्ष विभिन्न देशबाट हाँस प्रजातिका चरासहित अन्य जलपन्छी आउने गर्छन्।
परियोजनाका अर्का अधिकृत अमृत नेपालीले जलपन्छी संरक्षणका लागि सिमसार क्षेत्रको तत्काल संरक्षण आवश्यक रहेको बताए। उनका अनुसार कान्तितालमा यस वर्ष करिब ४० प्रजातिका जलपन्छी मात्र देखिएका छन्, जबकि गत वर्ष ५५ प्रजाति पाइएका थिए।
जलपन्छी गणनाबाट प्रजातिको अवस्था, संख्या घटबढ, आहारविहार तथा तालतलैया र सिमसार क्षेत्रको अवस्था विश्लेषण गरिन्छ। नेपालका ८० भन्दा बढी सिमसार तथा जलीय क्षेत्रमा यो गणना भइरहेको छ। संकलित तथ्याङ्क सरकारलाई बुझाइने र नीति तथा कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसका साथै परियोजनाले समुदायस्तरमा जनचेतना फैलाउने, संरक्षणमा स्थानीय सहभागिता बढाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा जलपन्छी संरक्षणबारे जानकारी प्रवाह गर्ने कामसमेत गरिरहेको जनाएको छ।
बाँकेको कान्तितालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिमध्ये सारसको एक प्रजाति पाइने गर्छ। यसका साथै सिलसिले हाँस, मरुन, कुट, बकुल्ला, जलेवा, सिम कुखुरा, किङफिसरलगायत थुप्रै पानीमा आश्रित जलपन्छी यहाँ आश्रित छन्।
जलपन्छीको घट्दो अवस्था सिमसार संरक्षणप्रति गम्भीर सोच र तत्काल कदम चाल्नुपर्ने चेतावनीका रूपमा देखिएको विज्ञहरूको भनाइ छ।