रोकी राखिएको ट्रकमा बस ठोक्किँदा सुनसरी शोकमा

0 Shares

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको भीषण सडक दुर्घटनाले दुई परिवार शोकमा डुबेका छन् भने दर्जनौँ यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार दुर्घटनापछि बसमा सवार यात्रुहरूबीच अफरातफरी मच्चिएको थियो ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो । घाइतेमध्ये २२ जनाभन्दा बढीलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ |

दुर्घटनामा घाइते भएका करिब ३५–४० वर्षका एक पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारकै क्रममा मृत्यु भएको छ । हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

त्यसैगरी, सिराहा सखुवान्नकट्टी गाउँपालिका–३ की करिब ४५ वर्षीया धनेश्वरी देवी यादवको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले पुष्टि गरेको छ|

घाइतेमध्ये केहीलाई सामान्य उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा रिफर गरिएको छ । अधिकांश घाइते सप्तरी, सिराहा र धनगढीमाई नगरपालिकाका बासिन्दा रहेका छन् ।

प्रहरीका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेको छ र उनीहरू आईसीयूमा उपचाररत छन् । गम्भीर घाइतेमा कञ्चनपुरकी मञ्जु चौधरी, सिराहाका सुकदेव साह, सत्यनारायण राम, मोहम्मद इसराफिल र हरि यादव रहेका छन् ।

घटनाले एकातर्फ यातायात सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ भने अर्कातर्फ पीडित परिवारमा शोक र पीडाको वातावरण सिर्जना भएको छ ।

सम्बन्धित समाचारसबै