काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ। विशेष महाधिवेशन सम्पन्न भएपछि नयाँ कार्यसमितिको पहिलो बैठक बसेर त्यसका निर्णयसहित गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको समूह आयोग जाने तयारीमा जुटेको हो।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले पार्टीसम्बन्धी कागजात तथा अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिन लागिएको अधिवक्ता राजु कटवालले जानकारी दिए। उनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि १ बजेसम्मको समयमा टोली निर्वाचन आयोग पुग्नेछ।
कटवालसहितको टोलीले विशेष महाधिवेशनका सम्पूर्ण कागजात, निर्णय र निर्वाचित कार्यसमितिको विवरण आयोगमा पेश गर्ने तयारी गरिरहेको छ। महाधिवेशनको औपचारिक दस्तावेजीकरण र अभिलेख दर्ता प्रक्रियालाई सहजीकरण गर्ने जिम्मेवारी उक्त टोलीले लिएको बताइएको छ।
बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई नेपाली कांग्रेसको सभापति घोषणा गरेको थियो। तर, उता संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई पाँच वर्षका लागि कारबाही गरेको घोषणा गर्दै आएको छ।
पार्टीभित्र देखिएको नेतृत्व विवाद र समानान्तर दाबीका बीच निर्वाचन आयोगमा हुने अभिलेख अद्यावधिक प्रक्रियालाई कांग्रेसको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।







