काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्याण्ड खरिद प्रस्तावको विरोध गर्ने युरोपेली मुलुकहरूमाथि कडा आर्थिक दबाब सिर्जना गर्ने संकेत गर्नुभएको छ। ट्रम्पले डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहित आठ युरोपेली देशबाट आयात हुने वस्तुमा आगामी महिनादेखि अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको हो।
अमेरिकी घोषणाअनुसार फेब्रुअरी १ देखि १० प्रतिशत भन्सार शुल्क लागु हुनेछ भने जुन महिनादेखि यो दर बढाएर २५ प्रतिशतसम्म पुर्याइनेछ। ग्रीनल्याण्ड खरिदसम्बन्धी सम्झौता नभएसम्म यो शुल्क नहटाइने ट्रम्पको स्पष्ट अडान छ।
ट्रम्पको यस कदमप्रति युरोपेली नेताहरूले कडा प्रतिक्रिया जनाएका छन्। बेलायती प्रधानमन्त्री कीर स्टार्मरले यो कदम “पूर्ण रूपमा गलत” भएको टिप्पणी गर्नुभएको छ भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले यस्ता धम्कीबाट युरोप नडराउने स्पष्ट पार्नुभएको छ।
यसैबीच, अमेरिकी प्रस्तावविरुद्ध ग्रीनल्याण्ड र डेनमार्कमा जनआन्दोलन चर्किएको छ। हजारौँ प्रदर्शनकारी सडकमा उत्रिँदै “ग्रीनल्याण्ड बिक्रीमा छैन” भन्ने नारा लगाइरहेका छन्।
सामरिक रूपमा संवेदनशील र खनिज तथा प्राकृतिक स्रोतले सम्पन्न ग्रीनल्याण्डलाई ट्रम्पले अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण बताउँदै आउनुभएको छ। तर हालै सार्वजनिक गरिएको एक सर्वेक्षणले ग्रीनल्याण्डका ८५ प्रतिशत नागरिक अमेरिका अन्तर्गत जान इच्छुक नरहेको देखाएको छ।
ग्रीनल्याण्डलाई लिएर सुरु भएको यो विवादले अमेरिका–युरोप सम्बन्धमा नयाँ तनाव थप्ने संकेत देखिएको छ।