काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज पदबाट राजीनामा दिने तयारीमा छन्। स्थानीय तहको कार्यकारी जिम्मेवारी त्याग्दै उनी संघीय राजनीतितर्फ उन्मुख हुन लागेका हुन्।
स्रोतका अनुसार बालेनले आजै मेयर पदबाट राजीनामा दिएपछि दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ। बैठकमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेन्डा रहेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज पनि केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह सहभागी हुने जानकारी उनले दिएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। उनको उम्मेदवारीले रास्वपाको चुनावी रणनीतिमा नयाँ गतिशीलता थप्ने अपेक्षा गरिएको छ।
केन्द्रीय समिति बैठकपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम रहेको छ। संघीय निर्वाचन नजिकिँदै गर्दा बालेनको निर्णयलाई समसामयिक राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।