राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि

0 Shares

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवन जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि यसपटक अधिवेशन संघीय संसद् सचिवालय, सिंहदरबारबाट सञ्चालन गरिने भएको छ। अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने तय गरिएको छ।

अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन्। पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने र हालै दिवंगत नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ (१) अनुसार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा माघ ४ गते अधिवेशन आह्वान गरेका थिए। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीव्र पारेको छ। आयोगका अनुसार १९ सदस्यका लागि हुने निर्वाचनमध्ये एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै राष्ट्रियसभामा पनि नयाँ सदस्य चयन हुने चरणमा पुगेकाले यो अधिवेशनलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचारसबै