विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले विराटनगरमा आज सर्वदलीय बैठक सम्पन्न भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले आयोजना गरेको बैठकमा जिल्लाका सबै राजनीतिक दलका नेता, ६ वटै निर्वाचन क्षेत्रका अधिकृत, सुरक्षा निकायका उच्च पदाधिकारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। बैठकको मुख्य विषय माघ ६ गते हुने मनोनयन दर्ता प्रक्रिया, निर्वाचन आचारसंहिताको पालना र मनोनयन दर्ता गर्ने समय व्यवस्थापनसम्बन्धी छलफल रहेको थियो।
मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईले निर्वाचन विशेष परिस्थितिमा हुँदै गरेको बताउँदै सबै राजनीतिक दलले मिलेर यसलाई सफल बनाउने दायित्व रहेको बताएका छन्। सामाजिक सञ्जालमा फैलिन सक्ने गलत प्रचार–प्रसारले निर्वाचनमा असर पार्न सक्ने भन्दै उनले राजनीतिक दललाई सचेत हुन आग्रह गरेका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचन शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षाका सबै प्रबन्ध मिलाइएको जानकारी दिए। उनले सबै दलहरुलाई निर्वाध रूपमा निर्वाचनमा सहभागिता जनाउन आग्रह गरे।
निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालका अनुसार मोरङमा कुल ७ लाख ८३ हजार ५० मतदाता छन्, जसमा पुरुष ३ लाख ९९ हजार ६८६, महिला ३ लाख ८३ हजार ३५७ र अन्य ७ जना रहेका छन्। जिल्लाका ६ निर्वाचन क्षेत्रमा ३ सय ६ मतदान स्थल र ८ सय ८८ मतदान केन्द्र स्थापना गरिएको छ।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता कडाइका साथ पालना गर्न तयार रहेको बताए।