बाजुरा ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा (एमाले) बाजुरामा आन्तरिक असन्तोष सतहमा आएको छ। युवालाई अवसर नदिएको आरोप लगाउँदै एमाले निकट संगठनहरूले बाजुरास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
एमाले केन्द्रीय कमिटीको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुरा जिल्ला कमिटीले संयुक्त रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका पुरानै अनुहारलाई पुनः टिकट दिइएको र नवपुस्तालाई पाखा लगाइएको आरोप लगाएका छन्।
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव रामचन्द्र रोकायाका अनुसार पार्टीले पटक–पटक चुनाव जित्दै आएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाउनु बाजुरेली युवामाथिको अन्याय हो। “यसले युवाको राजनीतिक भविष्यप्रति खेलवाड भएको सन्देश दिन्छ,” उनले बताए।
युवाहरूले एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाइनुपर्ने माग गर्दै आएका थिए। तर पार्टी नेतृत्वले उक्त माग बेवास्ता गर्दै केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई उम्मेदवारका रूपमा सिफारिस गरेपछि आक्रोश चुलिएको उनीहरूको भनाइ छ।
युवा नेताहरूले यसपटक बाजुराबाट एमालेले नयाँ अनुहारलाई अवसर दिनुपर्ने अडान दोहो¥याउँदै आफ्नो माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन्।