काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै मुलुकको शान्ति सुरक्षा अवस्था सन्तोषजनक नरहेको टिप्पणी गरेका छन्।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकार निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको वातावरण बनाउन असफल भएको आरोप लगाए। समाजमा विभिन्न खालका आपराधिक गतिविधि निरन्तर भइरहेको उल्लेख गर्दै उनले त्यसले सुरक्षा संयन्त्र कमजोर रहेको संकेत गर्ने बताए।
उनका अनुसार हालको परिस्थितिले निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ, जसका कारण चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुने विषयमा आशंका उत्पन्न भएको छ। यद्यपि, एमाले कुनै पनि अवस्थामा निर्वाचन प्रक्रियाबाट नभाग्ने उनले स्पष्ट पारे।
“सुरक्षा प्रबन्ध अझै सुदृढ हुन सकेको छैन। अपराधका घटनाहरू रोकिएका छैनन्। यस्तो अवस्थामा निर्वाचन शान्तिपूर्ण हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ,” ओलीले भने, “तर जे-जस्तो अवस्था भए पनि एमाले चुनावमा सहभागी हुन्छ।”
अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर–५ लाई लिएर फैलाइएका चर्चाप्रति पनि प्रतिक्रिया जनाउँदै उक्त क्षेत्र कुनै पनि अर्थमा निर्वाचनको ‘इपि सेन्टर’ नरहेको दाबी गरे।