सुनसरी । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अबुल हुसैन अन्सारीले सुनसरी–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी पाएका छन्।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई औपचारिक रूपमा उम्मेदवारको रूपमा अघि सारेका हुन्। यसअघि सोही निर्वाचन क्षेत्रमा उम्मेदवार बनाइएका पूर्व सांसद तथा पार्टी केन्द्रीय सदस्य जगदीश कुसियतलाई सुनसरी–२ मा सारिएपछि स्थानीय तहमा असन्तुष्टि देखिएको छ।
एमाले कार्यकर्ता अजय कुसियतसहित केही नेताहरूले टिकट वितरणको निर्णयप्रति असहमति जनाउँदै पार्टी नेतृत्वको आलोचना गरेका छन्।
पार्टीका अनुसार अन्सारी कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका थिए र सोमबार अध्यक्ष ओलीको निवास दुल्लुमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेशसँगै उनलाई सुनसरी–४ को उम्मेदवारको जिम्मेवारी प्रदान गरिएको छ।