काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको उम्मेदवार सूचीप्रति असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वलाई कम्तीमा १० निर्वाचन क्षेत्रमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उम्मेदवार चयनको सूची सार्वजनिक भएसँगै पार्टीभित्र केही क्षेत्रमा न्याय नभएको गुनासो बढेको र त्यसले संगठन कमजोर हुन सक्ने खतरा देखिएको भट्टराईको भनाइ छ । सोमबार भिडियो सन्देशमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै महाधिवेशनका आन्तरिक समीकरणभन्दा माथि उठेर निर्णय लिन आग्रह गरेका हुन् ।
“उम्मेदवार चयनपछि पार्टी कमजोर हुने आशंका देखिएको छ । अध्यक्ष हाम्रो सम्मानित नेता हो,” उनले भने, “महाधिवेशनमा कसले सहयोग गर्यो वा गरेन भन्ने आधारमा होइन, विशाल छाती बनाएर कम्तीमा १० निर्वाचन क्षेत्रमा मनोनयन दर्ताअघि सच्याउनुस् ।”
ताप्लेजुङ निर्वाचन क्षेत्रमा आफू उम्मेदवार बन्न इच्छुक हुँदाहुँदै पनि पार्टी अध्यक्षको फरक निर्णय आएको उल्लेख गर्दै भट्टराईले त्यसलाई स्वीकार गर्ने स्पष्ट पारे । अध्यक्षको निर्णयपछि कुनै किचलो नगरी पार्टी उम्मेदवारलाई जिताउन लाग्ने उनको भनाइ छ । “अध्यक्षले निर्णय गरेपछि उम्मेदवार जिताउनु मेरो कर्तव्य हो,” उनले भने, “म ताप्लेजुङमा कुनै विवाद गर्ने छैन ।”
उनले सूर्य चिह्नबाट चुनाव लड्ने सबै उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न कार्यकर्तालाई आह्वान गरे । मुलुकलाई स्थिर सरकार आवश्यक रहेको उल्लेख गर्दै एमालेले अत्यधिक बहुमत ल्याउनुपर्ने उनको धारणा छ ।
उम्मेदवार चयनका मापदण्ड र त्यसमा देखिएका कमजोरीबारे निर्वाचनपछि पार्टीभित्र समग्र समीक्षा गरिने पनि भट्टराईले बताए । “न्याय भएन भन्ने गुनासो आएको छ, पार्टी कमजोर हुने चिन्ता छ,” उनले दोहोर्याए, “अध्यक्ष नेता हो, सम्मानित नेता हो—महाधिवेशनका आधारमा होइन, सबैलाई समेट्ने निर्णय गर्नुस् ।”