झापा–५ मा बालेनले गरे प्रतिनिधिसभा उम्मेदवारी दर्ता

0 Shares

काठमाडौँ/झापा । राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने गरी काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

मंगलबार अपराह्न सयौँ समर्थकसहित झापा निर्वाचन कार्यालय पुगेका बालेनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्।

झापा–५ को चुनाव यसपटक उच्चस्तरीय राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्ने संकेत देखिएको छ। सोही क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) बाट रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।

विशेषतः बालेन र ओलीबीचको सम्भावित प्रतिष्पर्धाले झापा–५ को चुनावलाई राष्ट्रिय चासोको विषय बनाएको छ। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावी मैदानमा उतारेको छ भने एमालेले आफ्ना अध्यक्ष ओलीलाई नै उम्मेदवार बनाएको छ।

नयाँ राजनीतिक धार र पुरानो शक्तिबीचको यो टक्करले झापा–५ मात्र होइन, समग्र देशकै राजनीतिमा असर पार्ने विश्लेषण सुरु भएको छ। आगामी दिनमा चुनावी माहोल थप तातेको देखिने निश्चित छ।

सम्बन्धित समाचारसबै