तेह्रथुममा रास्वपाको ‘मास्टरस्ट्रोक’: ‘जिल्ला टपर’ इन्जिनियर सुरेन्द्र कार्की चुनावी मैदानमा

0 Shares

राजनीतिमा केवल गफ होइन, ‘डाटा र डिजाइन’ चाहिन्छ भन्ने मान्यता राख्ने २८ वर्षीय इन्जिनियर सुरेन्द्र कार्की तेह्रथुमबाट प्रतिनिधि सभाका लागि रास्वपाको ढिँडी बनेका छन्।

अर्थशास्त्रका विद्यार्थी र बैंकका भ्यालुएटरसमेत रहेका कार्की ‘अवेयर तेह्रथुम’ अभियानमार्फत युवाहरूलाई एकीकृत गर्दै राजनीतिको केन्द्रमा आइपुगेका हुन्। मृदुभाषी तर तार्किक छवि बनाएका कार्कीलाई यसपटक तेह्रथुमले ‘आशाको उम्मेदवार’का रूपमा हेरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुम जिल्ला क्षेत्र नं. १ बाट युवा इन्जिनियर  कार्कीलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेले कार्कीलाई आधिकारिक रूपमा मनोनयन पत्र प्रदान गरेसँगै तेह्रथुमको राजनीतिमा नयाँ उत्साह थपिएको छ।

उत्कृष्ट शैक्षिक पृष्ठभूमि र बौद्धिक छवि

वि.सं. २०५४ सालमा तेह्रथुमको फेदाप गाउँपालिका, सिम्लेमा जन्मिएका कार्कीको बाल्यकाल म्याङ्लुङ क्षेत्रमा बितेको हो। उनी एक मेधावी विद्यार्थीका रूपमा परिचित छन्। वि.सं. २०६९ सालको एस.एल.सी. परीक्षामा जिल्ला टप गरी रेकर्ड कायम गरेका कार्कीले काठमाडौँको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका हुन्।

रास्वपाका नेताहरू स्वर्णिम वाग्ले र सुमना श्रेष्ठकै स्कुल (बुढानिलकण्ठ) का उत्पादन कार्कीले आर.आर. क्याम्पसबाट राजनीति बुझ्ने मौका पाए भने हाल उनी त्रिचन्द्र क्याम्पसमा अर्थशास्त्रमा स्नातकोत्तर तहको अन्तिम चरणमा छन्।

व्यावसायिक दक्षता र राजनीतिक चेतना

पेशाले सिभिल इन्जिनियर रहेका कार्कीसँग भवन, सडक डिजाइन, खानेपानी र वातावरणीय अध्ययनको गहिरो अनुभव छ। उनी कृषि विकास बैंक लगायतका वित्तीय संस्थामा मूल्याङ्कनकर्ता (Valuator) का रूपमा समेत कार्यरत छन्। इन्जिनियरिङ परामर्शदाताका रूपमा काम गर्ने क्रममा संविधान र कानुनको व्यावहारिक ज्ञान हासिल गरेका उनी बौद्धिक र तार्किक युवा नेता मानिन्छन्।

‘अवेयर तेह्रथुम’ बाट राजनीतिक उदय

काठमाडौँलाई कार्यथलो बनाए पनि कार्कीको मन सधैँ तेह्रथुमकै विकासमा केन्द्रित रह्यो। जिल्लामा घटेको भदौ २३ र २४ को घटनापछि उनले ‘अवेयर तेह्रथुम’  अभियानमार्फत स्थानीय युवाहरूलाई संगठित गर्न सुरु गरे। सोही अभियानमार्फत भएका सामाजिक र राजनीतिक गतिविधिले उनलाई जनताको माझमा स्थापित गर्‍यो।

कार्कीका सबल पक्षहरू:

  • मृदुभाषी र तार्किक: उनी नरम स्वभावका भए पनि आफ्ना कुराहरू तथ्य र तर्कका आधारमा राख्न निपुण छन्।

  • स्थानीय लगाव: आफ्नो प्राविधिक दक्षता जिल्लाकै विकासमा लगाउनुपर्छ भन्ने मान्यताका साथ उनी निरन्तर जिल्लाबासीको सम्पर्कमा छन्।

  • स्व-अध्ययन र लेखन: उनी गहिरो अध्ययन र स्पष्ट लेखन क्षमता भएका नेतृत्वकर्ता हुन्।

पार्टीको ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणाली अन्तर्गत उम्मेदवार बनेका कार्कीको आगमनले परम्परागत राजनीतिमा युवा हस्तक्षेप बढ्ने विश्वास गरिएको छ। जिल्ला टपरदेखि सफल इन्जिनियरसम्मको यात्रा तय गरेका कार्कीले अब संसदमा तेह्रथुमको प्रतिनिधित्व गर्ने लक्ष्य राखेका छन्।

सम्बन्धित समाचारसबै