प्रतिनिधिसभा सदस्यका लागि मंगलबार उम्मेदवारी दर्ता भएपछि कास्कीमा राजनीतिक दलहरू निर्वाचन अभियानमा सक्रिय भएका छन्।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवार र छ जना स्वतन्त्र गरी जम्मा ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावलाई लक्षित गर्दै वडास्तरबाट भेटघाट र छलफल सुरु गरेको छ। एमालेले कास्की क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तापछि चुनाव केन्द्रित गतिविधि तीव्र पारेको छ। कांग्रेसले क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङलाई उम्मेदवारको रूपमा अघि सारेको छ।
नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन तयारीका क्रममा आज उम्मेदवार तथा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल गर्ने जनाएको छ। पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि पार्टीका पदाधिकारी र उम्मेदवारले तीनवटै निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु गर्ने छन्।
नेकपाले क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ, हेमबहादुर थापा पराजुली र गोपाल गिरीलाई उम्मेदवार चयन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज कास्कीमा बैठक बस्दैछ। रास्वपाले क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः खड्गराज पौडेल, उत्तमप्रसाद पौडेल र बिना गुरुङलाई प्रत्याशी बनाएको छ। रासस