0
Shares
विराटनगर — विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धा महिलाको ज्यान गएको छ। दुर्घटना बुधबार दिउँसो कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा भएको हो।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले बाटो पार गर्दै गरेकी पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेकी विराटनगर–४ की ७५ वर्षीया डम्बरकुमारी नेपाल गम्भीर घाइते भएकी थिइन्।
घाइते अवस्थामै उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
प्रहरीले बस र चालक झापाको कनकाई नगरपालिका–३ निवासी ३८ वर्षीय समीर लुइँटेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।