जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन अझै अपूरो, फेरि दुई साता म्याद थप्ने तयारी

0 Shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको छानबिन गरिरहेको आयोगले प्रतिवेदन समयमै बुझाउन नसकेपछि पुनः म्याद थप्ने तयारी भएको छ । आयोगको काम अझै नसकिएकाले दोस्रोपटक कम्तीमा दुई साताका लागि म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगलाई आन्दोलनका क्रममा भएको धनजनको क्षति, मानवीय क्षति र त्यसका लागि जिम्मेवार पक्ष पहिचान गरी कारबाही सिफारिस गर्ने कार्यादेश दिइएको छ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले आयोग गठन गर्दै तीन महिनाको समयसीमा तोकेको थियो ।

आयोगले असोज ८ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको थियो । तर, प्रारम्भिक तीनमहिने म्याद पुस ९ गते नै सकिएपछि मन्त्रिपरिषद्‌को निर्णयबाट एक महिनाको म्याद थप गरिएको थियो । थपिएको उक्त समयसीमा पनि माघ ८ गते सकिँदै छ ।

आयोग स्रोतका अनुसार, प्रतिवेदन लेखनको काम अझै करिब २० प्रतिशत बाँकी रहेकाले पुनः दुई साताको समय आवश्यक परेको हो । ‘‘प्रतिवेदन अन्तिम चरणमा छ, तर लेखन कार्य पूरा हुन अझै केही समय चाहिन्छ,’’ आयोग स्रोतले भन्यो । यस सम्बन्धमा सोमबार (माघ ५) मन्त्रिपरिषद्‌समक्ष म्याद थपको प्रस्ताव पेस गरिएको छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।

छानबिनका क्रममा आयोगले आन्दोलनका बेला भएका हत्या, आगजनी, तोडफोड तथा विध्वंसका घटनाबारे तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका उच्च अधिकारी, मुख्यसचिव, सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख, सुरक्षामा खटिएका कमान्डर तथा आन्दोलनका अभियन्तासँग बयान लिइसकेको छ ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको र दुई हजार ४२९ जना घाइते भएको तथ्य आयोगले संकलन गरेको छ । सरकारी अनुमानअनुसार, सार्वजनिक तथा निजी क्षेत्र गरी करिब ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यस अवधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न १०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको आयोगले जनाएको छ ।

आन्दोलनका क्रममा भएका ‘जेलब्रेक’ घटनाको पनि आयोगले छुट्टै छानबिन गरेको छ । सोही सिलसिलामा नक्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग समेत बयान लिइएको थियो ।

आयोगले आगजनीमा रसायन प्रयोग भएको थियो वा थिएन भन्ने विषयमा घटनास्थलबाट नमुना संकलन गरी परीक्षण गरिसकेको जनाएको छ । निजी उद्योग, प्रतिष्ठान, कलकारखाना, निजी घरभवनमा भएको आगजनी, लुटपाट, तोडफोड र त्यसबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

आयोगले भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन आवश्यक सुझावसहित दोषीमाथि कारबाही सिफारिस गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारसबै