प्रतिनिधिसभा चुनावमा जेन–जीको प्रवेश : १५७ युवा उम्मेदवार मैदानमा

0 Shares

काठमाडौं । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नयाँ पुस्ताको उल्लेख्य उपस्थिति देखिएको छ । १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना जेन–जी युवाले उम्मेदवारी दर्ता गराएर संसदीय राजनीतिमा प्रवेशको प्रयास गरेका छन् ।

निर्वाचन आयोगका अनुसार जेन–जी उम्मेदवारमध्ये ७० जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् भने ८७ जना स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले युवापुस्तामा दलभन्दा बाहिरबाट पनि राजनीतिमा हस्तक्षेप गर्ने चाहना बढ्दै गएको संकेत गर्छ ।

अघिल्लो प्रतिनिधिसभामा निर्णायक भूमिका खेलेका परम्परागत दलहरूमा भने जेन–जीको उपस्थिति निकै सीमित छ । नेपाली कांग्रेसबाट यसपटक एक जना पनि जेन–जी उम्मेदवार छैनन् । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बाट भने जनही एक–एक जना मात्रै जेन–जी उम्मेदवार चुनावी मैदानमा छन् ।

नयाँ दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेन–जी प्रतिनिधित्वमा अगाडि देखिएको छ । रास्वपाले देशका विभिन्न निर्वाचन क्षेत्रमा ८ जना जेन–जी युवालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना र जनमत पार्टीले ३ जना जेन–जी उम्मेदवार उठाएका छन् ।

संसदमा प्रतिनिधित्व नभएका केही नयाँ राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकतामा राखेका छन् । उज्यालो नेपाल पार्टीबाट ७ जना र श्रम संस्कृति पार्टीबाट ४ जना जेन–जी उम्मेदवार मैदानमा छन् ।

संविधानले प्रतिनिधिसभा सदस्यका लागि कम्तीमा २५ वर्ष उमेर तोकेकाले यसपटक सीमित उमेर समूहका जेन–जी मात्र उम्मेदवार बन्न सकेका हुन् । यद्यपि, उम्मेदवारको यो संख्या नेपाली राजनीतिमा पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचारसबै