काठमाडौं। गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा देशका लागि आवश्यक ठानिएको व्यक्तिलाई सहयोग गर्ने बताएका छन्। शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनले आफू प्रत्यक्ष प्रतिस्पर्धाभन्दा बाहिर रहेर पनि जनसेवामा सक्रिय रहने स्पष्ट पारे।
उम्मेदवारी फिर्ता गर्ने निर्णय विभिन्न व्यक्ति तथा राजनीतिक दलहरूको आग्रहपछि गरिएको भट्टराईले जानकारी दिए। उनले यस क्रममा प्रस्तावक र समर्थकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
भट्टराईका अनुसार वर्तमान राजनीतिक अवस्था अझै निश्चित दिशामा नपुगेको र तरल अवस्थामा रहेकाले आफूजस्तो व्यक्तिले साझा अभिभावकको भूमिका निर्वाह गर्नु उपयुक्त हुने सुझाव आएको थियो।
“देश अहिले निर्णायक मोडमा छ। यस्तो अवस्थामा चुनावी प्रतिस्पर्धामा उत्रिनुभन्दा बाहिरै बसेर मार्गदर्शन र सल्लाह दिनु उपयुक्त हुन्छ भन्ने सुझाव विभिन्न दल र साथीहरूबाट आयो,” उनले भने।
सबैको सुझाव र आग्रहलाई सम्मान गर्दै आफू आगामी दिनमा प्रत्यक्ष राजनीतिभन्दा बाहिर रहेर समग्र राजनीतिक प्रक्रियामा अभिभावकका रूपमा योगदान गर्ने भट्टराईको भनाइ छ।