भ्रम चिर्दै मैदानमा उत्रिन ओलीको निर्देशन

0 Shares

झापा। ५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन जित्न पार्टीपङ्क्ति योजनाबद्ध रूपमा मैदानमा उत्रिनुपर्ने बताउनुभयो। उहाँले एमाले नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त आधार भएको दाबी गर्नुभयो।

बैठकमा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा पालिका तहका नेताहरू सहभागी थिए। अध्यक्ष ओलीले विपक्षीले फैलाएका भ्रम चिर्दै प्रभावकारी प्रचारमा जुट्न र दृढताका साथ निर्वाचन अभियान अगाडि बढाउन निर्देशन दिनुभयो।

अध्यक्ष ओलीले आफू पहिलो पटक निर्वाचन लड्न झापा–५ आउँदाको अवस्थासँग अहिलेको अवस्थाको तुलना गर्दै भन्नुभयो, “त्यतिबेला यहाँ धुलाम्मे सडक मात्रै थिए, पिच सडक हेर्न राजमार्गसम्म जानुपर्थ्यो। आज गाउँ–गाउँ र टोल–टोलसम्म पिच सडक पुगेको छ, यो एमाले नेतृत्वकै उपलब्धि हो।”

भदौ २३ र २४ गते भएका घटनाप्रति पनि अध्यक्ष ओलीले टिप्पणी गर्दै नवयुवाले उठाएका माग जायज भए पनि त्यसमा भएको घुसपैठले देशलाई अस्थिर बनाएको दाबी गर्नुभयो। उहाँले एमालेमाथि दोष थोपर्ने र मतदातामा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको कडा प्रतिवाद गर्नुपर्ने बताउनुभयो।

“जनतासँग प्रत्यक्ष संवाद नै भ्रम तोड्ने सबैभन्दा प्रभावकारी माध्यम हो,” उहाँले भन्नुभयो, “यसका लागि सम्पूर्ण पार्टीपङ्क्ति घर–घरमा पुग्नुपर्छ र हरेक मतदातासँग सम्पर्क विस्तार गर्नुपर्छ।”

सम्बन्धित समाचारसबै