विराटनगर । विराटनगरस्थित कोशी प्रदेशको राजधानीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदान सुरु भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।
यस निर्वाचनमा कोशी प्रदेशबाट रिक्त तीन सदस्य पदमध्ये दुई पदका लागि मतदान भइरहेको छ। खुला समूहबाट भने नेपाली कांग्रेसका सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी महिला र दलित समूहका सदस्य चयनका लागि निर्वाचन हुँदैछ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेको छ। गठबन्धनतर्फबाट दुवै पदमा एमालेका उम्मेदवार चुनावी मैदानमा छन्। महिला समूहमा रोशनी मेचे र दलित समूहमा सोम पोर्तेल उम्मेदवार रहेका छन्। उनीहरूलाई चुनौती दिन नेकपा (नेकपा)बाट महिला सदस्यमा नमिता न्यौपाने र दलित सदस्यमा खेम सुन्दास उम्मेदवार बनेका छन्।
निर्वाचन प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ। कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेकपाका ३६, जसपा नेपाल र राप्रपाका समान ४–४ तथा स्वतन्त्र २ जना प्रमुख–उपप्रमुख रहेका छन्।
प्रदेशसभामा भने एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपाका १७, राप्रपाका ५ र जसपा नेपालका १ जना सांसद छन्। यद्यपि स्थानीय तहका ६ जना प्रमुख–उपप्रमुख र प्रदेशका १ जना प्रतिनिधिसभा उम्मेदवार भएकाले मतदान प्रक्रियामा सहभागी हुने छैनन्। त्यसैगरी झापा गाउँपालिकाका अध्यक्ष भ्रष्टाचार मुद्दामा निलम्बनमा परेकाले उनी पनि मतदानमा सहभागी नहुने निर्वाचन कार्यालयले जनाएको छ।