काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट)मा सहभागी हुन तयार रहेको अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भने डिबेटमा नआउने स्पष्ट संकेत गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीको सन्देशमा प्रतिक्रिया जनाउँदै बालेनले ओलीसँग एउटै मञ्च साझा गर्न नसक्ने बताएका हुन्। उनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” बालेनको यो भनाइले पब्लिक डिबेटप्रति उनको असहमति प्रस्ट पारेको छ।
बालेनले एमाले अध्यक्ष ओलीलाई ‘आतङ्ककारी’समेत स्वीकार्नुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ। नेताहरूको घर कहाँ–कहाँ छन्, तपाईंहरूलाई थाहा नै थियो। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते देश जलाइएको हो।”
उनले थप लेखेका छन्, “आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौँला।” बालेनको कडा अभिव्यक्तिपछि पब्लिक डिबेटलाई लिएर राजनीतिक वृत्तमा थप बहस चर्किने संकेत देखिएको छ।